काठमाडौँ: चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।
उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो ।
उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ ।
त्यसैगरी, बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
१५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । ‘उहाँ दमको बिरामी रहेको बुझिएको छ । हिँजो साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाएका थियौँ,’ वडाध्यक्ष रावतले भने, ‘उहाँलाई अरु केही समस्या थिएन ।’
