काठमाडौँ: चालू आर्थिक वर्ष सकिन झन्डै २० दिन बाँकी हुँदासम्म पुँजीगत बजेट खर्चको अवस्था झनै निराशाजनक रहेको छ ।
असार ११ गतेसम्म चालु आर्थिक वर्ष सकिन २० दिन अघिसम्म आइपुग्दा चालु वर्षको निर्धारित बजेटमध्ये ६०.३३ प्रतिशत खर्च भएको छ ।
१५ खर्ब ३२ अर्बको बजेटमध्ये बिहीबारसम्म ९ खर्ब २४ अर्ब ८१ करोड रुपैयाँ मात्रै खर्च भएको हो । विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ ७२.३८ प्रतिशत, पुँजीगततर्फ ३२.३४ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ५५.९५ प्रतिशत बजेट खर्च भएको छ ।
उक्त खर्चमध्ये पनि चालु प्रकृतिका खर्चहरुको हिस्सा ठूलो छ । अहिलेसम्म कुल खर्चमध्ये ७५ प्रतिशत खर्च प्रकृतिका खर्चहरु छन् । त्यस्तै, पुँजीगत खर्च १४ प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्च ११ प्रतिशत भएको छ ।
सामान्यतया चालु खर्चभित्र कर्मचारीको तलबभत्ता, अन्य सञ्चालनदेखि ह्रासकट्टा र मर्मतसम्भार खर्चसमेत पर्छन् । त्यस्तै, पुँजीगत खर्चले विकास निर्माण कार्यमा हुन खर्चलाई बुझाउँछ भने वित्तीय व्यवस्थालाई ऋणको सावाँ–ब्याज भुक्तानीका लागि खर्च गरिन्छ ।
चालु वर्षका लागि १५ खर्ब ३२ अर्बको बजेटमा चालुतर्फ छुट्टाइएको ९ खर्ब ९७ अर्बमध्ये हालसम्म ६ अर्ब ९८ करोड (७३.५७ प्रतिशत, पूँजीगततर्फ ४ अर्ब ८ करोड छुट्टाइएकोमा हालसम्म १ अर्ब ३२ करोड रुपैयाँ ( ३२.६२ प्रतिशत) तथा वित्तीय व्यवस्थामा १ अर्ब ६७ करोड छुट्टाइएकोमा हालसम्म १ खर्ब ६७ अर्ब रुपैयाँमध्ये हालसम्म ९३ अर्ब ९२ करोड (५५.९५ प्रतिशत) रुपैयाँ खर्च भएको हो ।
