काठमाडौँ: नेपालमा शनिबार बिहान सलह कीराको प्रवेश भएको छ । शुक्रबार भारतको बनारसमा रहेको सलहको बथान उत्तरपूर्वतर्फ हावाचल्दा सिधै बारा जिल्लामा प्रवेश गरेको हो ।
भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गर्ने कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए ।
कृषि मन्त्रालयले आइतबार विज्ञहरुसँगको छलफल गरेको छ ।
विज्ञहरुले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका थिए । विज्ञहरुको भनाइ सुनिसकेपछि मन्त्री भुसालले सलहको सो बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारीहरु र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरुसँग समन्वय गरेर ट्र्याकिङ गर्ने बताए ।
हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्याएको भन्दै कृषि मन्त्रालयले किसानहरुलाई नआत्तिन भनेको छ ।
नेपाल प्रवेश गरेका सलह, सलह पुगेको जिल्ला, त्यसले पुर्याएको क्षति, ती सलहको सम्भावित यात्रालगायतका विषयमा विस्तृत विवरण मन्त्रालयले आइतबारै पत्रकार सम्मेलन गरेर जानकारी दिने मन्त्री भुसालले बताए ।
सुरुमा बारा जिल्लामा प्रवेश गरे पनि अहिले सर्लाही, रुपन्देही, बुटवल, पाल्पा, सिन्धुली लगायत अन्य जिल्लामा सलहको बथान पुगिसकेको छ ।
सलह कीरा एकअर्कामा झुम्दै बथान भएर उड्ने गर्छन् । एउटा बथानमा चार करोडभन्दा बढी कीरा हुने गर्छन् । नेपालमा प्रवेश गरेको सलहको बथान भने लाखको संख्यामा रहेको कृषि विभागका पूर्वमहानिर्देशक डा. दिल्लीराम शर्माले खबरहबलाई बताए ।
‘सलह कीराले कुनै निश्चित बाली खाने भन्ने हुँदैन, जहाँ हरियो देख्छ त्यहीँ खाइदिन्छ’ उनले भने, ‘रोपेको धान, तरकारी लगायत सिजनको बाली सखाप पार्न सक्छ ।’
सलह कीरा विभिन्न स्थानमा उडिरहेकोले कति क्षति गर्छ र कहिलेसम्म बस्छ भन्ने कुरा निश्चित नभएको डा. शर्माको भनाइ छ । उनले भने, ‘दिनभर उडिरहन्छ, कहाँसम्म पुग्छ र कति क्षति पु¥याउँछ अनुमान गर्न सकिँदैन ।’
