काठमाडौँ: प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ ।
यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ ।
यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागका अधिकारीहरु बताउँछन् ।