जुम्ला: जुम्लाका प्रतिनिधिसभाका सदस्य गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी बर्षको बजेट एउटै नमूना स्याउ र ओखर बगैचामा लगानी गरिने भएको छ ।
टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले ‘नमूना बृहत स्याउ तथा ओखर बगैचा’ बनाएर पुरै बस्तिलाईनै समेटिने गरी एक बर्षको सांसद विकास पूर्वाधारको सवै बजेट प्रयोग गर्ने जानकारी दिएका छन् ।
सांसद महतले सो बगैचा क्षेत्रको अवलोकन तथा स्थानीय सरकार सँगको समन्वय पछि बृहत बगैचाका लागि कृषि क्षेत्र तथा पशुपक्षी विज्ञहरु, कृषि अनुसन्धान विज्ञहरु सँग राय सल्लाह समेत माग्नु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयको सहजीकरणमा सुपरजोन सहित कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, पशुपालन तथा भेटेनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेडाबाख्रा केन्द्र गुठिचौरका प्रमुखहरुको सहभागितामा बृहत चक्लाबन्दी बगैचाका लागि कसरी अगाडि बढ्ने, प्राविधिक बिषयहरु के के हुन ? र कसरी सफल हुने भन्ने बिषयमा छलफल गरिएको छ ।
जिल्लाको तातोपानी गाउँपालिकाको गौतमबाडा देखी डाँगीवाडा सम्मको जमिनलाई घेरवार, सिचाई देखी संरक्षण गरि नमूना उत्पादन क्षेत्र बनाईने भएको भन्दै सांसद महतले कृषि विज्ञहरुलाई जानकारी दिए ।
उनले कृषि विज्ञहरुको उपस्थितिमा राजनितिक परिवर्तन भयो तर आर्थिक परिवर्तन विना समृद्धि असम्भव भएकाले जिल्लाकै नमूनाको रुपमा बगैचा अगाडि बढाउन खोजिएकाले स्थानीय सरकार सहित सवै कृषि क्षेत्रका जानकारहरु र सरोकारवालाहरुको सहयोग समन्वय आवश्यक रहेको जानकारी दिए ।
सो बृहत प्याकेज कार्यक्रम निकै राम्रो र जिल्लाकै उत्पादनका लागि नमूना क्षेत्र हुने भएको भन्दै कृषि विज्ञहरुले सूझाव दिएका छन् ।
कृषि अनुसनधान केन्द्र राजिकोटका प्रमुख राजकुमार गिरी गुणस्तरीय कलामी व्यवस्थापन, सिचाई देखी पोष्ट हारबिष्ट र प्राविधिक बिषयमा बढि ध्यान दिने हो भने स्याउ बगैचा उत्तम हुने बताए ।