काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यको बैठक बसिरहेको छ। शनिबार दिउँसो नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बसिरहेको छ।
बैठकमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन्। जसमा प्रधानमन्त्रीसमेत रहेका केपी ओली समूहका सदस्य भने सहभागी छैनन्। नेकपाको ९ सदस्यीय सचिवालय सदस्यमध्ये ओली, रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल बैठकमा उपस्थित नभएका हुन्।
नेकपाभित्र विवादले उग्र रुप लिएपछि पार्टी एकता कसरी जोगाउने भन्ने विषयमा छलफल भइरहेको बैठकमा एक सचिवालय सदस्यले जानकारी दिए।
शुक्रबार बालुवाटारमा प्रचण्डसँग पार्टी एकता सकेसम्म गर्ने तर पार्टी अहिले फुटे सरह रहेकाले आफूले अर्को पार्टी बनाउने बताएपछि नेकपाभित्र अर्को तरंग फैलिएको छ। उनले भने, ‘हिजो ओलीले पार्टी एकता कायम गर्ने हो भने अध्यक्ष र प्रधानमन्त्रीको कुरा नगर्नुस् भनेर प्रचण्डलाई भन्नु भएछ अब कसरी पार्टी एकता जोगाउने भन्नेमा हामी छौं, यही विषयमा छलफल चलिरहेको छ।’
ओलीले शुक्रबारको छलफलमा वरिष्ठ नेता माधव नेपाल वा आफ्नो टिममध्ये कुनमा बस्ने रोज्न भन्दै प्रचण्डलाई आग्रह गरेका थिए। ‘उहाँ (प्रधानमन्त्री) ले पार्टी एकता कायम गर्ने हो भने अध्यक्ष र प्रधानमन्त्रीको कुरा भएन, अर्को एउटा पनि निर्णय गर्नुहोस् तपाईंले मेरो टिममा बस्ने हो कि माधव नेपालको टिममा बस्ने हो? फैसला गर्नुहोसमेत मलाई भन्नुभयो’, ओलीले आफूलाई राखेको प्रस्ताव सुनाउँदै प्रचण्ड ब्रिफिङ गरे।
२ जेठ २०७५ मा ओली र प्रचण्डबीच भएको लिखित पाँच बुँदे सम्झौतामा अढाई वर्षपछि आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख भएको विषयमा विवाद बढेपछि विवाद मिलाउन २०७६ मंसिर ४ मा अर्को समझदारी भएको थियो। त्यसमा प्रचण्डलाई दल र ओलीलाई पाँच वर्ष नै सरकार सञ्चालन गर्न दिने सहमति भएको थियो। तर पनि नेकपाभित्र ओली-प्रचण्ड संघर्ष रोकिएको छैन्।
पार्टी विवाद उत्कर्षमा पुगेपछि शुक्रबार एक दिनका लागि स्थायी समिति रोकेर नेताहरू सहमतिको मिलनबिन्दु खोजीमा जुटेका थिए। दुई अध्यक्ष मात्र होइन, दोस्रो पुस्ताका नेता पनि शुक्रबार दिनभर एकअर्को पक्षबीच छरिएरसमेत ‘साइडलाइन’ छलफलमा बसेका थिए। छलफलमा भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, मणि थापा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, वर्षमान पुन, शक्ति बस्नेतलगायत सहभागी थिए।
पार्टीका दुवै अध्यक्षलाई भेट गरी २ जेठ २०७५ को पाँच बुँदे सहमति र २०७६ मंसिर ४ को दुई अध्यक्षबीचको कार्य विभाजनकै आधारमा टेकेर कुनै न कुनै मिलन बिन्दु खोजी गर्न दबाब दिने निष्कर्ष ती नेताहरूले निकालेका थिए। मिलनबिन्दु पत्ता नलाग्दा ओलीले पनि बालुवाटारमा आफू निकट नेताहरूसँग छलफल जारी राखेका थिए। माधव नेपालले पनि स्थायी समिति सदस्य वेदुराम भुसाल, भीम रावललगायतसँग आफ्नै निवास कोटेश्वरमा भेट गरेका थिए।