काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भोली फेरि वार्ता हुने निष्कर्षसहित आजको छलफल सकिएको छ ।
बालुवाटारमा विहानदेखि भएको छलफलमा विगतमा भएका समझदारीका आधारमा सहमति खोज्नका लागि भोली फेरि वार्ता गर्ने निर्णय भएको नेता वर्षमान पुनले जानकारी दिए ।
असमझदारी बढाउने गतिबिधि नगर्ने सहमति भएको छ।भोलिको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच छलफल हुनेछ,’ बैठकमा सहभागी नेता वर्षमान पुनले बताए ।
पार्टीभित्र प्रधानमन्त्रीको राजीनामा मागसहित विवाद चर्किएका बेला दुई अध्यक्षले आआफ्नो तर्फका नेताहरुको टिमसहित वार्ता सुरु गरेका हुन ।
उक्त छलफलमा शीर्ष नेताका साथमा अन्य पाँच नेताहरु सहभागी थिए।
नेताहरुका अनुसार भोली सोमबार हुने तय भएको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच पुनः छलफल हुनेछ।
छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल र प्रचण्ड समूहका तर्फबाट उर्जा मन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मा सहभागी थिए।
पार्टीभित्र तीब्र विवाद भइरहेका बेला प्रचण्ड र दुई वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी प्रचण्ड शितलनिवासबाट सिधै बालुवाटार पुगेका थिए।
मन्त्री पुनका अनुसार विगतमा भएका सहमतिका आधारमा नयाँ समझदारी खोज्ने भन्दै बैठक सकिएको हो।
२०७५ जेठ २ मा सहमति गरी जेठ ३ मा पार्टी एकीकरणको औपचारिक घोषणा भएको थियो।
त्यसपछि दुई अध्यक्षबीच सरकार र पार्टी नेतृत्व गर्नेबारे विवाद भएपछि २०७६ मंसिर ४ गते दुई अध्यक्षबीच पुनः सहमति भएको थियो। सो सहमतिअनुसार प्रधानमन्त्री ओलीले बाँकी कार्यकाल पनि सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा पार्टी सञ्चालन गर्ने सहमति भएको थियो।
