काठमाडौं:नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुसँग लिएको ऋणको विषयमा कुनै गुनासो भए लेखेर पठाउन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ।
महासंघले एक सूचना जारी गर्दै नेपाल बैंकर्स संघका प्रतिनिधिसँग प्रत्येक महिना बैठक बसी गुनासा उपर छलफल गरी समस्या समाधान निकाल्न कोशिश गर्ने तय भएकाले कर्जाको सम्बन्धमा कुनै गुनासो भए लेखेर पठाउन आफ्ना सदस्यहरुलाई आग्रह गरेको हो।
महासंघले तिर्न सक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन अनुरोध गरेको छ। तर, उसले आफैले ब्यवसायीहरु तिर्न नसक्ने अवस्थामा रहेको दाबीसमेत गरेको छ।
सूचनामा भनिएको छ- चालु आर्थिक वर्षको अन्तिम समय भइसक्दा पनि बैंकको किस्ता तथा ब्याज तिर्न चाहेर पनि धेरै उद्योगी, व्यापारी तथा व्यवसायी तिर्न सक्ने अवस्थामा छैनन्।
महासंघले तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्न माग गरिएको उल्लेख गरेको छ।