काठमाडौं: मधेशी आयोगले आर्थिक वर्ष २०७५/०७६ मा गरेका थुप्रै कार्यक्रमहरुमा गोलमाल भएको भन्दै प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले त्यसबारे लिखित जवाफ दिन निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को अन्त्यतिर जथाभावी रकम खर्च गरेको देखिएकोले त्यसको यथार्थ विवरण लिखित रुपमा बुझाउनका लागि आयोगलाई निर्देशन दिएको छ ।
आर्थिक वर्षको अन्तिम अन्तिममा गोष्ठीको नाममा ३२ लाख रकम खर्च गरेको समितिले ठहर गर्दै त्यो बारेमा स्पष्ट पार्न निर्देशन दिएको हो । यस विषयमा २०७६ मंसिर १८ गते रातोपाटीले लेखेको थियो, ‘मधेशी आयोगले २०७५/०७६ को तीन महिना २३ दिनमा चालु खर्चतर्फ मात्र एक करोड ३४ लाख २७ हजार ४९ रुपियाँ खर्च गरेको छ । जसमा सबैभन्दा बढी गोष्ठीमा ३६ लाख रुपैयाँ खर्च गरेको छ ।’
आयोगले सबैभन्दा बढी प्रदेश २ मा २३ पटक कार्यक्रम गरेको छ । सप्तरी, सिरहामा मात्र ५ दिनमा ६ पटक कार्यक्रम गरेको छ । धनुषा र महोत्तरीमा १९ दिनमा १० पटक कार्यक्रम गरेको छ । त्यस्तै सर्लाही, रौतहट, बारा, पर्सामा सात दिनमा सात पटक कार्यक्रम गरेको छ । प्रदेश १ को मोरङ, सुनसरी र झापामा सात दिनमा पाँच पटक कार्यक्रम गरेको गरेको छ ।
त्यस्तै, प्रदेश र सुदुरपश्चिम प्रदेशको कपिलवस्तु, कैलाली र बाँकेमा सात दिनमा तीनपटक कार्यक्रम गरेको छ भने काठमाडौँमा असार २५ गते एउटा कार्यक्रम गरेको छ, जसमा १५० जनाको सहभागिता थियो ।
आर्थिक वर्षको अन्तिम समय भएको कारणले बजेट सिध्याउनैका लागि हतार हतारमा आयोगले कार्यक्रम गरेको प्रष्ट देखिन्छ । हिसाब मिलान गराउनका लागि थुप्रै ठाउँमा गोलमाल गरेको देखिन्छ ।
उदाहरणका लागि, सिरहा र सप्तरीमा वैशाख १६ गतेदेखि २० गतेसम्म ६ दिन कार्यक्रम भएको छ, जसमा एकहजार २५० जना सहभागी भएको देखाइएको छ । पाँच दिनमा ६ वटा कार्यक्रम, त्यसमा पनि सबै कार्यक्रममा आयोगका अध्यक्ष आफै उपस्थित भएको प्रतिवेदनमा उल्लेख भएको विवरण रातोपाटीले यसअघि नै प्रकाशित गरिसकेको छ ।
आयोगले प्रदेश २ मा २३ पटक कार्यक्रम गरेको छ जसमा सप्तरी, सिराहमा मात्र ५ दिनमा ६ पटक, धनुषा, महोत्तरीमा १९ दिनमा १० पटक, सर्लाही, रौटहट, बारा, पर्सामा सात दिनमा ७ पटक, मोरङ, सुनसरी र झापामा ७ दिनमा ५ पटक कार्यक्रम गरेको, कपिलवस्तु, कैलाली, बाँकेमा ७ दिनमा ३ पटक, काठमाडौँमा एकपटक कार्यक्रम गरेको उल्लेख छ ।
आर्थिक वर्षको अन्त्यतिर द्रूत गतिमा ३२ वटा यस्ता गोष्ठी, अनुशिक्षणका कार्यहरु हतारमा सम्पन्न गर्नुले उपलव्ध बजेट जसरी पनि सिध्याउने भन्ने मान्यता राखेको देखिन्छ ।
छोटो सयममा यति धेरै कार्यक्रमहरु गर्नु पछाडिको कारण के हो ? त्यसको औचित्य पुष्टि गर्न समितिले आयोगलाई भनेको छ । यस्ता कार्यक्रममा भएको खर्चको हिसाव मिलाउने क्रममा गोलमाल गरिएको भन्ने जनगुनासो पनि समितिलाई प्राप्त भएको भन्दै समितिले आयोगसँग तिनको जवाफ माग गरेको छ ।
उल्लेखित कार्यक्रममा सहभागी भएकाहरुको नामावली, कार्यक्रमको कार्यतालिका एवं प्रस्तुत कार्यपत्रहरु, कार्यक्रममा संकलन गरिएका सुझावहरुको विवरण, भएको खर्चको हिसाव कितावको विवरण एवं कागजातको अवस्थाको विवरण पनि माग गरिएको छ ।
