काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनले विदेशबाट हवाइ तथा स्थलमार्गबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयल सक्षम रहेको जानकारी दिए ।
उनले भने, ‘ हवाई तथा स्थलमार्गबाट आउनेहरुको पीसीआर गराउन मन्त्रालय कटिबद्ध छ ।’
विदेशबाट आएकाहरु घटेको र क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि घटेका कारण परीक्षणको दायरा कम भएको बताए ।
उनले दैनिक १० हजारको पीसीआर परीक्षणको क्षमता भए पनि यो भन्दा बढीको पनि परीक्षण गर्न मन्त्रालय सक्षम रहेको बताए । संक्रमण दर कम हुँदै गएकाले पीसीआर परीक्षण दर मात्रै कम भएको उनले बताए ।
उनले भने, ‘संक्रमणको दर कम भए पनि जोखिम कम भएको छैन ।’ उनले व्यक्ति तथा समुदायले उठाएका विषयमा मन्त्रालय जानकार रहेको बताए ।