काठमाडौं: साउनको पहिलो सोमबार (भोलि ५ गते) दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ।
सरकारले नै मन्दिर, विद्यालयलगायत धेरै भीडभाड हुने ठाउँ नखोल्ने निर्णय जारी राखेकोले पशुपतिमा भक्तजनका लागि खुल्ला नगरिएको हो।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म भक्तजनका लागि पूजाआजा र दर्शनका लागि मन्दिर खुल्दैन।
‘सरकारले नै मन्दिरलगायत नखोल्ने भनेको छ। साउन ७ सम्म त लकडाउन नै छ,’ उनले भने, ‘नित्य पूजा त भइरहेको छ। भक्तजनका लागि सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म खुल्दैन।’
कोरोनाभाइरस संक्रमण नघटेका बेला भक्तजनका लागि मन्दिर खोल्नु उपर्युक्त नहुने पनि उनले बताए।
‘भट्ट, भण्डारीलगायत पूजारीहरूले पनि सामाजिक दूरी कायम गरी नित्य पूजा गर्नु भएको छ,’ उनले भने, ‘अहिले नै मन्दिर पूजाआजा र दर्शनका लागि खोल्ने र पूजारीमा संक्रमण देखियो भने त ठूलो संख्यामा भक्तजनमा फैलन सक्ने जोखिम रहन्छ त्यसकारण पनि अहिले नै मन्दिर खुल्दैन।’
उनले सरकारले नै मन्दिर खोल्ने निर्णय गरेपछि पनि पशुपतिमा पहिलेझैं दर्शन गर्न पाइने छैन।
‘भक्तजनले ल्याएका सामान बाहिरै राख्नुपर्नेछ। मन्दिरमा दर्शन गरेर फर्कने गरी प्रोटोकल बनाएर लागू गर्ने तयारीमा छौं,’ सदस्य सचिव ढकालले भने।