काठमाडौं: सिभिल मल व्यवस्थापनले लकडाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ।
विश्व महामारीको रूपमा फैलिएको कोभिड-१९ का कारण सरकारले गरेको लकडाउन अवधिको ४ महिनाको मासिक भाडादरमा सिभिल मल व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो।
सिभिल मल व्यापार संघका अध्यक्ष रत्नबहादुर घिमिरेले चैतदेखि असारसम्म ४ महिनामा ५० प्रतिशत छुट, साउन भदौ र असोज गरी ३ महिनाको भाडामा ४० प्रतिशत छुट दिने व्यवपस्थापन पक्षसँग सहमति भएको बताए।
कात्तिकबाट एक वर्षसम्मको अवधिमा पसलहरुको प्रकृतिअनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिने सहमति पनि व्यवस्थापनसँग बनेको उनले बताए।
सरकारले साउन ७ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेपनि मलका व्यवसायीहरुले असार १ गतेबाट नै पसल सञ्चालन गरेका थिए। पसल सञ्चालन भए पनि व्यापार शून्य अवस्थामा रहेपछि उनीहरुले भाडादरमा सहुलियत दिन व्यवस्थापन पक्षसँग आग्रह गर्दै आएका थिए।
‘सिभिल मल बचाउ अभियान’ नै सञ्चालन गरेर व्यवसायीहरुले असार २१ गतेबाट शान्तिपूर्ण कार्यक्रमसँगै साँचोसमेत हस्तान्तरण गरेका थिए। मंगलबार मध्यरातिबाट लागू हुनेगरी सरकारले लकडाउन अन्त्यको घोषणा गरिसकेको छ। सरकारले लकडाउन खोले पनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ।