काठमाडौं:महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारीसाधनलाई कारबाही गरेको छ।
शुक्रबार महाशाखाका ट्राफिक प्रहरी आफैं यात्रु बनेर कारबाहीको अभियान थालेको हो। सार्वजनिक यातायातहरू चलेको केही दिन बितेसँगै यात्रुसँग बढी भाडा असुल्न सक्ने भन्दै अभियान थालेको हो।
महाशाखाले तोकिएको संख्या भन्दा बढी यात्रु राख्ने सवारीसाधनलाई पनि कारबाही गरेको छ। ३३ वटा सार्वजनिक सवारी साधनलाई कारबाही गरेको महाशाखाले जनाएको छ।
साथै स्वास्थ्य मापदण्ड विपरित चलाइएका १ हजार एक सय ५२ वटा सवारी साधनलाई सम्झाइबुझाई छाडेको हो।
‘कोरोना संक्रमण रोकथामको लागि सामाजिक दूरी कायम गराउन तथा चालक र यात्रुले अनिवार्य मास्क, सेनिटाइजर लगाएको, नलगाएको र ५० प्रतिशत मात्र यात्रु राखे/नराखेको अनुगमन गर्ने विशेष अभियान चलाएको हो,’ प्रवक्ता एसपी बामदेव गौतमले भने।
