काठमाडौँ: नेपाल टेलिकमले आर्थिक वर्ष २०७४।७५ मा १५ अरब ६६ करोड ७५ लाख रुपैयाँ मुनाफा गरेको छ। यो अघिल्लो आवको तुलनामा १ दशमलव ९२ प्रतिशतले बढी हो ।
कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु १.९६ ले बृद्धि भई प्रति शेयर आम्दानी रु १०४.४५ पुगेको टेलिकमद्वारा आइतबार जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।
टेलिकमले आज आर्थिक वर्ष २०७५।७६ मा सम्पन्न गर्न तय गरेका कार्यक्रमको विवरण सार्वजनिक समेत गरेको छ ।
गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तिय विवरण पश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिव ४५ अरब ५६ करोड ५८ लाख रहेको टेलिकमले जनाएको छ।
यस्तैगरी विगत लामो समय देखि सञ्चालनमा रहेका ल्याण्ड लाइन सेवाका पुराना उपकरणहरु विस्थापन गरी टि डी एम माइग्रेसन आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरण मार्फत सेवा प्रदान गर्न आरम्भ गरेको छ छ । सो अनुरुप हालसम्म करिव एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्र मध्ये अति प्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडव्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकोमा तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालनमा ल्याउन सफल भएको छ ।
टेलिकमका अनुसार २०७५ जेठ मसान्तसम्ममा कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ रहेको छ ।
यसैगरी, इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४ सय २९ रहेको छ । यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ ले बृद्धि भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको शुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकोमा गत जेठ महिनामा सो बजार हिस्सा २ प्रतिशतले बृद्धि भई ५१ प्रतिशत पु¥याउन कम्पनी सफल भएको छ ।
कम्पनीको इतिहासमा प्रथम पटक कम्पनी ऐनले तोकेको समय भित्र नै कम्पनीको वार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीका शेयर होल्डरलाई हाल सम्मकै सबैभन्दा बढी लाभांस वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७५।७६ का कार्यक्रम
यस्तैगरी कम्पनीले आर्थिक वर्ष २०७५।७६ का लागि समेत विभिन्न महत्वाकांक्षी योजना अघि सारेको छ । यस मध्ये केही महत्वकांक्षी योजना आवको शुरुवातसँगै कार्यान्वयनमा आउन थालेका छन् ।
पूर्वाधार विकास
मुलुकमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्नको लागि नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी मुलुकका प्रदेश १,२,३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्नका लागि जम्मा पाँचवटा बोलपत्र आह्वान भइसकेको छ ।
साथै पहाडी जिल्लाका सदरमुकामहरुमा सञ्चालनमा रहेको एडीएसएस आयोजनामार्फत एक हजार किलोमिटर अप्टिकल फाइवर विस्तार कार्य चालु आर्थिक वर्षको प्रथम त्रैमासिक भित्र सम्पन्न गरिने छ ।
यसैगरी काठमाडौं-तराई द्रुत मार्गमा नेपाली सेनासँग सहकार्य गरी भूमिगत रुपमा अप्टिकल नेटवर्क विस्तार कार्य थालनी गरिने कार्यक्रम रहेको छ । साथै प्रदेश १,२,३ बाहेकका क्षेत्रहरुमा समेत कम्पनीले उच्च क्षमतायुक्त ट्रान्समिसन उपकरणहरु जडान गरी पूर्वाधार बिस्तार गर्नेछ ।
शहरी तथा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास गर्ने उद्देश्य लिई नेपाल सरकारका विभिन्न निकायहरूसँग थप सहकार्य गर्दै सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ ।