रुपन्देही: रूपन्देहीको देवदहस्थित क्वारेन्टिनमा गार्ड बसेका एक युवकले आफ्नै जिउमा आगो लगाएका छन्।
देवदह नगरपालिका वडा नम्बर ७, शीतलनगरस्थित नेपाल मगर संघको नगर भवनस्थित क्वारेन्टिनमा गार्ड बसेका २४ वर्षीय विपिन बस्यालले आफ्नो शरीरमा आफैंले मट्टितेल खन्याएर आगो लगाएका हुन्।
वडाध्यक्ष पदमबहादुर थापाका अनुसार मंगलबार बिहान साढे ३ बजे आसपास घटना भएको हो।
‘मलाई बिहान ३ बजेर २७ मिनेट जाँदा फोन आएको थियो, क्वारेन्टिनबाहिर आगो लगाएर एकजना मान्छे मरिसक्यो भन्ने खबर आयो,’ उनले भने, ‘त्यही भएर मैले पहिले प्रहरी, नगरप्रमुखलाई खबर गरें, तर मानिस मरिसकेको होइन रहेछ, अवस्था अत्यन्त नाजुक भइसकेको पाइयो, शरीर धेरै जलेको छ।’
उनका अनुसार उनलाई हतारहतार देवदह मेडिकल कलेज लगिएको छ। तर त्यहाँबाट पाल्पा लाने कुरा भएको तर पछिल्लो जानकारी आइनसकेको वडाध्यक्ष थापाले बताए।
वडाध्यक्ष थापाका अनुसार क्वारेन्टिन स्थल सफा गर्न राखिएको मट्टितेल जीउमा खन्याएर ती युवकले आगो लगाएका हुन्। आगो लगाउनुको कारण के हो खुल्न सकेकाे छैन।
‘ती युवक मेडिकल पढ्दै गरेका हुन्, मानसिक समस्या पनि छ भन्ने सुनियाे, वास्तविकता खुल्न बाँकी छ,’ उनले भने।
वडाध्यक्ष थापाका अनुसार त्यस क्वारेन्टिनमा दुई जनालाई गार्ड तोकिएको छ। दिउँसो र राति पालैपालो गरेर बस्ने गरेका छन्। आगो लगाउने ती युवकको हिजो राति पालो परेको थियाे।