काठमाडौं : कोरोनाको जोखिम नियन्त्रण र रोकथामबारेको परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक अझै जारी छ ।
बैठकमा सहभागी भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना धारणा राखेर बाहिरिएका छन ।
बालुवाटार स्रोतका अनुसार परामर्श बैठकमा उनले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए ।
बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुपर्यो ?’
उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको गुनासो पोखे । उनले भने, ‘कुरा कसैको नसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुस् भनेर आज सुझाव दिएको छु ।’
