काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधि लयमा नफर्कँदा वित्तीय प्रणालीमा २ खर्ब बढी अधिक तरलता भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने लागेको हो।
केन्द्रीय बैंकले रिभर्स रिपो मार्फत बिहीबार २० अर्ब रुपैयाँ खिच्न लागेको हो । गत साता मात्र राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिचेको थियो । सो रिभर्स रिपो समेत परिपक्क भएपछि वित्तीय प्रणालीको अधिक तरलता बढेर २ खर्ब भन्दा माथि पुगेको हो ।
यो समेत गरेर राष्ट्र बैंकले चालु आर्थिक वर्ष सुरु भएयता तेस्रो पटक रिपोर्स रिपो जारी गरेको हो । यसअघि राष्ट्र बैंकले २० अर्बका दरले दुई पटक रिभर्स रिपो जारी गरेको थियो । वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेको र गत साता निष्काशन गरेको रिभर्स रिपो समेत परिपक्क भएकाले पुनः प्रणालीबाट पैसा खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
बिहीबार २० अर्ब रिभर्स रिपो जारी गरेपछि करिब १८५ अर्ब रुपैयाँ बढी अधिक तरलता बजारमा अझै रहनेछ ।
