एजेन्सी: विश्वकप २०१८ सुरु हुन एक दिन अघि, सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता क्यानडा-मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने पक्का भएको छ । रसियामा बसेको विश्व फुटबल महासंघ (फिफा) को बैठकबाट तीन मुलुकले प्रतियोगिता आयोजनाको बाजी जितेका हुन्।
प्रतियोगितामा हुने ८० खेल मध्ये ६० खेल अमेरिकामा हुनेछ। १० खेल क्यानडा र १० खेल मेक्सिकोले आयोजना गर्नेछन्।
पहिलोपटक तीन देशले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन्। सन् २००२ पछि विश्वकप प्रतियोगिता संयुक्त रुपमा आयोजना भएको छैन। सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए।
विश्वकप फुटबल सन् २००६ मा जर्मनी, सन् २०१० मा दक्षिण अफ्रिका र सन् २०१४ मा ब्राजिलले आयोजना गरेका थिए।
विश्वकप फुटबल यसपटक रसियामा हुदैँछ। सन् २०२२ को विश्वकप फुटबल भने कतारले आयोजना गर्दैछ। अमेरिका र मेक्सिकोले यस अघि पनि विश्वकप फुटबल आयोजना गरिसकेका छन् ।