काठमाडौं : पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले आज आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् ।
नेकपाका तीनवटै गुट अर्थात केपी ओली, प्रचण्ड र माधव नेपाल निकट सांसदहरुले आज दिउँसो संयुक्त पत्रकार सम्मेलन गरि धारण सार्वजनिक गर्न लागेका हुन् । पार्टी एकता जोगाउन नेतृत्वलाई दबाब दिने उदेश्यले उक्त पत्रकार सम्मेलनसँगै एकताका पक्षमा रहेका सांसद्हरूको हस्ताक्षरसमेत सार्वजनिक गर्ने र नेतृत्वलाई बुझाउने तयारी भएको एक सांसदले बताए ।
पार्टीमा विभाजनको खतरा बढेपछि तीनवटै गुटका सांसदहरुले एकताका पक्षमा हस्ताक्षर संकलन गरेका थिए। पत्रकार सम्मेलनमा पार्टी एकताको रक्षा र सुदृढीकरणका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरिने सांसद यज्ञराज सुनुवारले जनाए ।
पार्टीभित्रकै विवादका कारण असार १० गतेदेखि सुरु जारी नेकपाको स्थायी कमिटीको बैठक असार १८ गतेपछि बस्न सकेको छैन। साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेपछि अर्का कार्यकारी अध्यक्ष प्रचण्डले बहुमत २९ जना स्थायी कमिटी सदस्य लिएर सञ्चालन गरेका थिए।
सोही दिनदेखि स्थगित बैठक अझै बस्ने नबस्ने तय हुन सकेको छैन। विवादकै कारण पछिल्लो समय पार्टीका शिर्ष नेताहरुबीच आन्तरिक छलफल समेत हुन सकेको छैन । प्रचण्डपक्ष नेताहरु ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली भने अहिले नै दुवै पद नत्याग्ने पक्षमा छन् ।