काठमाडौं: लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिविरुद्ध आइतबार अदालतमा मुद्दा दायर भएको छ ।
अधिवक्ता जयबहादुर भुजेलले आइतबार भट्टको नियुक्तिविरुद्ध पाटन उच्च अदालतमा निवेदन दायर गरेका हुन् । उक्त निवेदनमा मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णयको सो नियुक्तिसम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।
उक्त निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद्, लगानी बोर्ड, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस समिति र सुशील भट्टलाई प्रतिवादी बनाइएको छ ।
रिट निवेदनमा भुजेलले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा भट्टको नियुक्ति पहिलो चरणमै गैरकानूनी रहेको देखिएको भन्दै उक्त नियुक्तिउपर उत्प्रेषणको परमादेश माग गरेका हुन् ।
उक्त रिटमा बोर्डमा भट्टको नियुक्ति योग्यता र नियत दुवै आधारमा गैरकानूनी रहेको दाबी गरिएको छ । भट्टको नियुक्ति सार्वजनिक निजी साझेदारी ऐन बमोजिम भएको र उक्त ऐनमा मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको सम्झाउँदै त्यसका लागि भट्ट योग्य नभएको दाबी सो निवेदनमा गरिएको छ ।
