काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १ देखी अन्तर्राष्ट्रिय उडान सुरु गर्नेगरी मापदण्ड तयार पारेको छ।
पर्यटन मन्त्रालयले स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयहरुसँग मिलेर मापदण्ड तयार पारेको हो।
सो मापदण्डअनुसार कोरोनाको पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट सहित नेपाल आउन चाहने व्यक्ति सबै आउन पाउने व्यवस्था गरिएको छ।
मन्त्रालयका सहसचिव सुरेश आचार्यले पीसीआर नेगेटिभ भएको जुनसुकै देशको नागरिक पनि नेपाल आउन पाउने प्रस्ताव गरेको बताएका छन्।
साउन ५ गते मन्त्रिपरिषदले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलाई अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने मापदण्ड बनाउने जिम्मेवारी दिएको थियो।
‘मन्त्रालयले तयार पारेको मापदण्ड स्वीकृत गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको छ,’ सहसचिव आचार्यले नेपालखबरसंग भने ‘सीसीएमसीले प्रोटोकल स्वीकृत गर्यो भने भदौ १ देखि नै पाँच उडान भएपनि सुरु गर्ने तयारी गरेका छौं।’
उनले मन्त्रिपरिषदले भदौ १ देखि उडान गर्ने निर्णय गरेको भन्दै वैदेशिक रोजगारीमा गएका नेपाली ल्याउन पनि नियमित उडान आवश्यक भएको बताए।
उनले नियमित उडान गर्दा हवाई भाडादरमा प्रतिस्पर्धा भई मिलेमतो नहुने बताए।
‘थोरै भएपनि नियमित उडान गर्नुपर्छ भन्ने हाम्रो धारणा हो र सोहिअनुसार तयारी गरिएको हो,’ उनले भने ‘संक्रमित बढी भएको देशमा उडान गर्दैनौं। भारत, बैंकक, सिंगापुर जस्ता देशमा अहिले सुरु गर्दैनौं।’
तर सीसीएमसीको निर्देशन के हुन्छ त्यो अनुसार अघि बढ्ने उनले बताए।
