काठमाडौँ: एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर (आइपिओ) बाँडफाँड आज हुने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले बिहान ९ बजे क्यापिटलको कार्यालय नक्सालमा बाँडफाँड हुने जानकारी दिएको छ।
आइपीओको प्रि-अलोटमेण्ट आइतबार नै सम्पन्न भैसकेको छ।
कम्पनीको आईपीओमा ४ लाख २८ हजार १५३ जना आवेदकबाट १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग भएको छ। जुन मागभन्दा ५.२४ गुणा बढी हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको थियो ।
जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि बाँडफाँड गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
