काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश आन्दोलनका क्रममा मुद्दा लागेका तथा थुनामा रहेकाहरुको बारेमा सरकारले एकमुष्ट निर्णय गर्ने राजपा नेपालका नेताहरुलाई आश्वासन दिएका छन् ।
प्रम ओलीलाई भेट्न आइतवार साँझ बालुवाटार पुगेका राजपा अध्यक्षमण्डलका नेताहरुलाई ओलीले यस्तो आश्वासन दिएका हुन् ।
‘मधेसका सम्बन्धित सबै मुद्दालाई कलेक्सन गरी त्यसमा अध्ययन गरी सरकारले एकमुष्ट निर्णय गर्नेछ तपाईहरु नआतीनुहोस,’ ओलीले भने ।
कतिपयको मुद्दा गम्भीर प्रकृतिका तथा कतिपयको समान्यखालका रहेकाले सबैको बारेमा सरकारले पहिला अध्ययन गर्ने र त्यसपछि छलफल गरेर टुंगोमा पुगिने आश्वासन ओलीले दिएको राजपाका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले बताए ।
राजपा नेपालले साउन ३ गते प्रधानमन्त्री अोलीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझेपनि प्रधानमन्त्री ओलीले संविधान संशोधन र मुद्दा फिर्ता लगायतका विषयमा कुनै चासो नदेखाएको भन्दै असन्तुष्ट रहँदै आएको छ ।
असन्तुष्टिकैबीच साउन २३ गते बसेको राजपा अध्यक्षमण्डलको बैठकको निर्णय नेताहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । सो बैठकले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
भेटमा नेताहरुले सांसद तथा टिकापुर घटनाको भनिएको मुख्य दोषी रेशम चौधरीदेखि लिएर राज्यमन्त्री अभिराम शर्मालगायतका विषयमा कुरा प्रधानमन्त्रीसँग कुरा राखेका थिए।
सरकारलाई विश्वासका मत दिँदा नेकपा र राजपाबीच तीन बुँदे सम्झौता भएको थियो । सो सम्झौतामा पनि संविधान संशोधन लगायतका विषय उल्लेख गरिएको भएपनि कार्यान्वयन हुन नसकेको उनीहरुले गुनासो गरेका थिए ।
मधेश आन्दोलनको क्रममा दर्जनौं आन्दोलनकारीमाथि मुद्दा लाग्नुको साथै कतिपय आन्दोलनकारी फरार छन् त कतिपय थुनामा रहेका छन् ।
