काठमाडौँ: काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ।
बुधबार २९ जनामा कोरोना पुष्टि भएकोमा बिहीबार थप १० जनामा कोरोना देखिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिइन्।
उनका अनुसार कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरूमा कोरोना देखिएको छ। साथै बल्खुमा २ जना र लाम्पाटी क्षेत्रमा पनि कोरोना संक्रमित देखिएका छन्।
‘घरबाट खासै बाहिर ननिस्कनेहरूमा पनि कोरोना देखिएपछि समुदायस्तरमै कोरोना फैलिएको आशंका छ,’ उनले भनिन्, ‘घरमै बस्नेहरू पसल आउजाउ गर्दा कोरोना सरेको हुनुपर्छ।’
कोरोना देखिएका क्षेत्रमा सिल गर्न सुरू गरेको उनले जानकारी दिइन्।
‘बार लगाएर बाटो र गल्लीहरू पूर्ण रूपमा बन्द गर्न थालेका छौं। होटल तथा व्यापार व्यवसायका पसलहरू सबै बन्द गरिएको छ,’ उनले भनिन्।
वडा कार्यालयले तीन दिनदेखि सेवा दिन बन्द गरेको छ।
कलंकीमा रहेको मालपोत कार्यालयले बुधबारदेखि सेवा दिन बन्द गरेको उनले बताइन्।
