काठमाडौँ: आज (शुक्रबार) देशभर केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
बागमती, गण्डकी, ५ नम्बर र कर्णालीका प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।
उनका अनुसार अहिले बिहान पनि पूर्व झापाको दमक आसपास तथा सुदूरपश्चिम प्रदोशका केही स्थानमा हल्का पानी परिरहेको छ। यसबाहेक देशका अन्य स्थानमा मौसम सामान्य बदली छ।
‘कतिपय स्थानमा घाम पनि लागिरहेको छ, जस्तो : काठमाडौं उपत्यकामा अहिले देखिरहनुभएको छ,’ मौसमविद् अर्यालले नेपालखबरसँग भने, ‘आजको मौसम यस्तै रहन्छ, कहिले बादल, कहिले घाम, क्षणिक वर्षा हुने फेरि २–३ घण्टा खुल्ने।’
उनका अनुसार खासगरी दिउँसो ३–४ बजेदेखि बदली र वर्षा अलि बढ्ने देखिन्छ। काठमाडौं उपत्यकामा पनि अबको ३–४ घण्टापछि बदली हुने सम्भावना छ।
यस्तै राति पनि देशभर सामान्य वदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश नं १, बागमती प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बहिान ६ बजे जारी गारको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
भोलि (शनिबार) बाट वर्षाको मात्रा केही बढ्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए। उनका नेपालको पश्चिमतर्फ न्यून चापीय रेखा केही नजिक रहे पनि अन्य स्थानमा यो अहिले औसत स्थानभन्दा दक्षिण अर्थात् नेपालदेखि टाढा छ।