वागमती: मकवानपुरको हेटाँैडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति हेटाँैडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटाँैडा–४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटाँैडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उक्त मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
हेटाँैडा वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थियो । कोरोना सङ्क्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।
यता, पूर्वी चितवनको खैरहनी नगरपालिका–३ गोठसोरमा एक वृद्धाको मृत्युपछि कोरोना पुष्टि भएको छ । एक सय आठ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । उहाँको मङ्गलबार मात्रै पिसिआर परीक्षण नतिजा आएको हो । नतिजामा कोरोना सङ्क्रमण देखिएको छ ।
साउन २४ गते क्यान्सर अस्पतालमा कार्यरत आफन्तले भेटघाट गरेर गएसँगै आफन्तको नमूना परीक्षणका क्रममा सङ्क्रमित देखिएपछि उहाँको स्वाब सङ्कलन गरिएको थियो । उहाँसँगै ती सङ्क्रमितको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा मृतकको हेरचाह गर्ने चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मृतक वृद्धाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ ।