काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न गत बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप गर्नेबारे उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक आज मंगलबार बस्दै छ ।
अहिलेसम्मको कोरोना संक्रमणको स्थितिबारे समीक्षा गर्दै बैठकले भोली भदौ १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्ने तयारी भएको जनाइएको छ । त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र उपत्यकाभित्रका स्थानीय तहसँग पनि यसबारे संयुक्त रूपमा छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए ।
हिजो सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ ।
फोरमको सिफारिस मंगलबार प्रशासनसँगको संयुक्त बैठकमा पेस गरिनेछ । बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि भोली बुधबार राति सकिँदै छ ।
सोमबार नै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि बढाउने निर्णय गरेका छन् । दुवै प्रशासनले आ–आफ्ना निर्णय मंगलबार बस्ने संयुक्त बैठकमा पेस गरिने बताएका छन् ।
संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि थप निर्णय लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तीन जिल्लाको संयुक्त सुरक्षा र डीसीसीएमसीको बैठक डाकिएको काठमाडौंका प्रजिअ दाहालले बताए ।
प्रजिअ दाहालले निषेधाज्ञाले उपत्यकामा जोखिमको मात्रा घटाउन मद्दत पुगेको दाबी गरे । ‘जोखिम कम गर्न निषेधाज्ञा अझै केही समय लम्ब्याउनुपर्छ भन्ने विभिन्न पक्षबाट रायसुझाव आएका छन्, डीसीसीएमसी र संयुक्त सुरक्षा बैठकमा यसको पनि समीक्षा हुन्छ,’ उनले भने, ‘सायद अर्को एक साता निषेधाज्ञाको अवधि बढ्न सक्छ ।’
गत मंगलबार राति बसेको उपत्यकास्थित तीन जिल्लाकै संयुक्त सुरक्षा समिति बैठकले अत्यावश्यक र सरकारले आउजाउ गर्न दिने भनी तोकिएबाहेकका वस्तु तथा सेवाको कारोबार र मानिसका आउजाउ भदौ १० गतेसम्मका लागि बन्द गरेको थियो ।