काठमाडौँ: शेयर बजारमा पछिल्लो केहि दिन यता सुधारको क्रमले निरन्तरता पाएको छ ।
देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको भएपनि शेयर अनलाइन कारोबारमा लगानीकर्ता अभ्यस्त बन्दै जाँदा बजारमा सकारात्मक प्रभाव परेको हो।
मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढेर १ हजार ४४० दशमलव ९४ बिन्दुमा उक्लिएको छ । यसदिन १८९ कम्पनीको ३९ लाख ४० हजार ६९१ कित्ता शेयर १ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा भन्दा २८ करोड कम हो । सोमबार २ अर्ब १३ करोड ९२ लाख बराबरको शेयर किनबेच भएको थियो।
यसदिन कारोबारमा आएका व्यापार, उत्पादन र म्युचुअल फण्ड बाहेक सबै समूहको सूचक सकारात्मक रहेको छ। विशेष गरी बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
बन्दाबन्दीले बजारका अन्य लगानीक्षेत्र संकुचित हुँदा शेयर बजारमा लगानीकर्ताको आकर्षण थपिएको छ । यतिबेला वित्तीय प्रणालीमा प्रशस्त तरलता रहेको र ब्याजदर समेत घट्दो क्रममा रहेकाले पनि शेयर बजार सकारात्मक प्रभाव परेको हो । अन्यत्र क्षेत्रको लगानी ठप्प जस्तै हुँदा शेयर लगानी गर्नेहरु बढेका छन् ।
धितोपत्रको प्राथमिक बजारमा समेत लगानीकर्ताकोहरुको संख्या बढ्दै गएको छ । रिलायन्स लाइफको आईपीओमा ६ लाख बढी आवेदन पर्नुले पनि प्राथमिक बजारमा लगानीकर्ताहरु बढ्दै गएको प्रष्ट देखिन्छ । गएको एक महिनाभित्र आधा दर्जन कम्पनीले आईपीओ निष्काशन गरेका थिए । आआईपीओमा शेयर पाएका लगानीकर्ताहरु शेयर बिक्रीका लागि दोस्रो बजारमा प्रवेश गर्दा पनि अनलाइन कारोबारमा सुधार आएको छ ।