काठमाडौं: उपत्यकाका मेयर र प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञालाई कायामै राखन सिफारिस गरेका छन् ।
कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी, मेयर र प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँ स्रोतले जानकारी दियो ।
यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको बताए । उनले भने, ‘निषेधाज्ञा के गर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।’
बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् ।
उपत्यकामा यही भदौ ३ गते मध्यरातिबाट एक साताका लागि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा भोलि बुधबार मध्यरातीबाट सकिँदैछ ।