काठमाडौँ: नेपाल प्रहरीमा विहिबारसम्ममा (भदौ ११ गते १२ बजेसम्म) कुल १,३५१ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। उनीहरुमध्य हाल देशभरमा ७९५ जना विभिन्न अस्पतालहरुमा उपचारत रहेको प्रहरी मुख्यालयले जनाएको छ।
प्रहरी मुख्यालयका प्रबक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक कुबेर कडायतले दिएको जानकारी अनुसार हालसम्ममा ५५६ जना संक्रमित प्रहरी निको भएर अस्पतालबाट डिस्चार्ज समेत भैसकेका छन् ।
यस्तै, कुल ७९५ हालको संक्रमित मध्ये, १६३ जना उपत्यकामा कार्यरत प्रहरीहरु रहेको समेत उनले बताए। उनीहरुको प्रहरी अस्पताल महाराजगञ्जदेखि देशका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको समेत उनले जानकारी दिए।
महाराजगञ्जमा २२ प्रहरी संक्रमित
महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुगेको छ । यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो ।
संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर जाँच गर्दा थप १३ जना प्रहरीमा संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
‘मनमैजु हत्याकाण्ड’का आरोपी आङदोर्जे शेर्पालाई साउन ३१ मा पक्रेर थुनामा राखिएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि निकट सम्पर्कमा रहेको प्रहरीको जाँच गर्दा कोरोना देखिएको थियो ।
त्यस्तै, नेपाल प्रहरीको भोटाहिटीस्थित साईबर ब्यूरोमा पनि इन्सपेक्टर सहित दुईजना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । ब्युरोका संक्रमित प्रहरीलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।
संक्रमण देखिएपछि साईबर ब्यूरोमा कार्यरत प्रहरीलाई अफिस आउन ‘पालो सिस्टम’ लागु गरिएको छ ।