काठमाडौं: अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले हाल सरकारले विभिन्न मन्त्रालयअन्तर्गत रहेका परियोजनाहरुका लागि गरिएको अस्थायी दरबन्दीमा कुनै नयाँ थप दरबन्दी सिर्जना नगरिएको बताएका छन् ।
यसै साता भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरुको सार्वजनिकीकरण गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले भने, यो कुनै नयाँ दरबन्दी सिर्जना गरिएको होइन, बरु पहिल्यै नै सिर्जना गरिएको दरबन्दीको नवीकरणमात्रै हो ।
यस्ता अस्थायी दरबन्दीहरु वार्षिक रुपमा एक वर्षका लागि खोलिन्छन। लोकसेवाबाट भइआउने पदपूर्ति हुन नसक्दा कामकारबाहीलाई सञ्चालन गर्नुपरेकाले यसैलाई नवीकरण गर्नुपर्ने हुन्छ, उनले भने ।
उनका अनुसार अहिले धेरै सेवामा राखिएका दरबन्दीहरु नवीकरण गरिएका दरबन्दीहरु नै हुन् । यी कुनै थप आर्थिक व्ययभार पर्ने खालका दरबन्दी होइनन् ।
उनले परिस्थिति अनुसार केही दरबन्दीहरु सिर्जना गर्नुपर्ने हुनाले प्राविधिक तहका दरबन्दीहरु कार्यबोझका हिसाबले लोकसेवाबाट हुनुपर्ने भएतापनि त्यसमा समस्या देखिएकाले अप्ठ्यारो अवस्था रहेको बताए ।
उनले भने, अहिले सिर्जना गरिएका अधिकांश दरबन्दीहरु आवधिक रुपमा काम गर्नका लागि खुलाइएका हुन् यसले सरकारलाई कुनै ब्यबहार पर्दैन।
भदौ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न मन्त्रालय अन्तर्गतको परियोजनाका लागि मात्रै ४८ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो ।