चितवन: चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट बिहीबार राति प्राप्त रिपोर्टअनुसार खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।
संक्रमितहरु ६ देखि ७९ वर्षसम्मका छन्। भरतपुरका संक्रमितहरू नारायणी सामुदायिक अस्पताल र भरतपुर अस्पतालका हुन्। गैँडाकोटका संक्रमितको पुरानो मेडिकल कलेजबाट स्वाब लिइएको हो। रत्ननगर र खैरहनीका संक्रमितहरू स्थानीय क्वारेन्टिनमा छन्।
चितवनमा कोरोना संक्रमितको संख्या ५१३ जना पुगेको छ।
यहाँका अस्पतालहरूमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। बिरामीसँगै कोरोना संक्रमितको उपचार गर्नुपर्ने जिम्मेवारीमा रहेका स्वास्थ्यकर्मीहरू आफै संक्रमित हुनेक्रम बढेको छ।
उपचारमा खट्नेक्रममा आफैलाई संक्रमण भएपछि उनीहरू अहिले होम आइसोलेसनमा आराम गरिरहेका छन्।
बिहीबारसम्म चितवनमा १३ जना डक्टर र ४६ जना नर्ससहित ८५ जना स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण देखिएको छ। उनीहरू जिल्लाका विभिन्न अस्पतालहरुमा कार्यरत छन्।
जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार संक्रमित स्वास्थ्यकर्मीहरू मध्ये सबै भन्दा बढी बीपी कोइराला मेमोरियल क्यान्सर स्पतालमा कार्यरत छन्।
क्यान्सर अस्पतालमा कार्यरत २६ जना, चितवन मेडिकल कलेज र पु्रानो मेडिकल कलेजका १६/१६ जना, भरतपुर अस्पतालका १५ जना, नारायणी सामुदायिक अस्पताल र सेन्ट्रल अस्पताल तीन/तीन जना छन्। क्लीनकहरूमा काम गर्ने तीन जनामा पनि संक्रमण भएको छ।
रत्ननगर बकुलहर अस्पताल, मौलाकालिका अस्पताल, मनकामना अस्पताल र अन्य जिल्लाका सरकारी अस्पतालमा काम गर्ने चितवनका एक/एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ।