काठमाडौं : सुन्धारास्थित केन्द्रिय कारागारका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ । स्रोतका अनुसार कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १७५ जना कैदीबन्दीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो ।
कारागारको तीन वटै ब्लकमा रहेको कैदीबन्दीमा संक्रमण देखिएपछि जोखिम थप बढेको छ । यसअघिका संक्रमितलाई कीर्तिपुरको आइसोलेसेन सेन्टरमा पठाइएको थियो ।
आइतबार थपिएका मध्ये लक्षण भएकालाई अस्पताल र नभएकालाई आइसोलेसनमा पठाउने तयारी गरिएको छ ।
कारागार व्यवस्थापन विभागका एक अधिकारीले पनि कारागारमा उपचार सम्भव नहुने रोगको उपचारका लागि गंगालाल, ट्रमा, त्रिवि शिक्षण अस्पताल लगायतमा लैजाने गरेको उल्लेख गर्दै त्यहीँबाट संक्रमण फैलिएको हुनसक्ने बताए ।
कारागारमा देखिएका पहिलो संक्रमित सिन्धुलीबाट उपचारका लागि काठमाडौं ल्याइएका थिए ।
