काठमाडौं: नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले होम डेलिभरी सेवालाई रोक लगाएकोमा आपत्ति जनाएको छ।
लकडाउन र निषेधाज्ञामा घरघरमा अत्यावश्यक खाद्यान्न पुर्याएर सेवा दिएर बजारमा भीडभाड कम गर्न सहयोग गर्ने व्यवसायलाई रोक्नु न्यायोचित नभएको मञ्चले जनाएको छ। मञ्चले कोरोनाका कारण आर्थिक गतिविधी ठप्प रहेको अवस्थामा बजारको वितरण प्रणालीलाई निरन्तरता दिएर आर्थिक गतिविधिमा सहयोग पुर्याएको समेत जिकिर गरेको छ।
अनलाइनमार्फत घरघरमा सेवा दिने कम्पनीहरुले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएको बताउँदै त्यस्ता व्यवसाय निर्वाध संचालनको माग मञ्चले गरेको छ।‘कर्मचारीहरूलाई पीपीई सूटको व्यवस्था गरिएको छ।
डेलिभरी गर्ने भ्यानहरूलाई समेत प्रत्यक पटक स्यानीटाईज गरिन्छ,’ सस्तो डिलका संस्थापक अमुन थापाले भने , ‘कारोवार सकेसम्म नगद रहित नै गर्ने प्रयास गरिरहेका छौं।‘ उनका अनुसार सस्तो डिलले नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सामान निशुल्क वितरण गर्दै आएको छ ।
मञ्चका अध्यक्ष च्याङ अग्रवालले यो कठिन समयमा सरकार तथा निजी क्षेत्रले सहकार्य गरि अगाडि बढ्नुपर्ने बताए।