काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टायता थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज एक महोत्तरीकी ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको छ । जसमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसअघि आइतबार कोरोनाले एकैदिन ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको थियो ।