काठमाडौं : सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन आगामी असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को हिजो आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए ।
यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए ।
सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेकोमा अब ८०० जनासम्मको उद्धार गर्ने निर्णय गरेको हो । विदेशमा रहेका नेपालीको उद्धार नियमित र चार्टर फ्लाइटमार्फत पर्यटन मन्त्रालयले आवश्यकताअनुसार गर्नेछ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
धेरै निकायबीच समन्वय गर्न पर्दा समन्वयको अभावमा केही अन्योल भएको भन्दै उनले अहिले मन्त्रालयलाई नै पूर्ण जिम्मेवारी दिइएको बताए ।
यस्तै सरकारले गैरआवासीय नेपाली ९एनआरएनए०लाई नेपाल आउन दिने भएको छ । विदेशी नागरिकता लिएका एनआरएनएहरुले नेपाल आउन नपाएको भन्दै गुनासो गर्दै आएका थिए । कूटनीतिक नियोगका सिफारिसमा नेपाल आउनै पर्ने अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन दिने निर्णय भएको खतिवडाले बताए ।
सरकारले सबै प्रदेश र स्थानीय तहले जोखिम विश्लेषणको आधारमा प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेशन बेड तयार पार्न भनेको छ ।
बैठकले उपत्यकामा संक्रमणको अवस्था अनुसार स्वास्थ्य मन्त्रालय तथा वाग्मती प्रदेशले अस्पताल, स्वास्थ्य केन्द्रमा आवश्यक अनुसार आइशोलेशन स्थल तयार पार्न आग्रह गरेको छ ।
ती आइसोलेशन स्थलको सुरक्षा नेपाली सेनाले गर्ने पनि निर्णय गरेको छ । यस्तै एउटा हलमा २५ जना रहनेगरी नेपाल मेडिकल काउन्सिललाई परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।