काठमाडौँ: कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेध (अत्यावश्यकबाहेक सबै गतिविधि बन्द) को अवधि अब एक दिन बाँकी छ अर्थात् भोलि बुधबार मध्यराति १२ बजे सकिँदै छ। यस्तो अवस्थामा पनि उपत्यकामा कोरोना संक्रमण घट्दो होइन बरु अझै बढ्ने संकेत देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै उपत्यकामा २९८ जना (काठमाडौंमा १९०, ललितपुरमा भक्तपुरमा ४१ र ललितपुरमा ६७) संक्रमित थपिएका छन्।
यसै सन्दर्भमा कुरागर्दै भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, यस्तो अवस्थामा निषेधाज्ञा अन्त्य गर्ने सम्भावना छैन।
‘सहजीकरण गर्ने नाममा अहिल्यै स्वास्थ्यका मापदण्ड बेवास्ता गर्न मिल्ने अवस्था छैन, कडाइ अझै जारी राख्न जरुरी देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्, ‘त्यसकारण भदौ १७ बाट पुनः एक हप्ता निषेधको अवधि लम्ब्याउनेबारे हामी (तीन जिल्लाका सीडीओ) अनौपचारिक छलफल गरिरहेका छौं।’
उनका अनुसार अरू एक हप्ता निषेधको आदेश जारी हुन सक्ने सम्भावना छ। ‘यस विषयमा निर्णय गर्न सम्भवतः भोलि (बुधबार) बैठक बस्नेछौं,’ उनले भनिन्।
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि यस विषयमा भोलि संयुक्त बैठक बसेर समीक्षा गर्ने र एउटा निर्णय हुने जानकारी दिए।
सरकारले काेराेना नियन्त्रणका लागि चैत ११ गतेदेखि देशव्यापी रूपमा लागू गरेको लकडाउन झन्डै ४ महिनापछि साउन ६ गते अन्त्य गरेको थियो।