काठमाडौँ: स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएपछि यहाँका स्थानीय जनप्रनिधिहरूले असन्तुष्टि जनाएका छन्।
आफूहरूको सुझावविपरीत उपत्यकाका जिल्ला प्रशासन कार्यालयले विकास निर्माण लगायतका क्षेत्रमा समेत सहजता ल्याएको भन्दै उपत्यका नगरपालिका फोरमले बिहीबार विज्ञप्ति जारी गरेर असन्तुष्टि जनाएको हो।
उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठद्वारा बिहीबार संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘भदौ १८ गतेदेखि लागू हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ।
यसले निषेधाज्ञाको खासै अर्थ नराख्नै भन्दै उनीहरूले अत्यावश्यक वस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न माग गरेका छन्।
स्थानीय प्रशासनले भदौ ३ गते मध्यरातिबाट जारी भएको निषेधाज्ञा २४ गतेसम्मका लागि लम्ब्याएका छन्।

