ललितपुर : रातो मछिन्द्रनाथको रथ यात्रा सुरु गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा ललितपुरको पुल्चोक क्षेत्र तनावग्रस्त बनेको छ।
स्थानीयले बिहान ११ बजेदेखि नै रथ तान्न सुरु गरे पनि प्रहरीले अवरोध गरिरहेको थियो। प्रहरीको आग्रह र अवरोधलाई छल्दै रथलाई तानेर पुल्चोकको मुल सडकमा पुर्याएपछि स्थिति तनावग्रस्त बनेको हो।
झडपकै क्रममा स्थानीयले प्रहरीको मोटरसाइकलमा आगजनी गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ भने पानीको फोहोरा पनि हानेको छ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले प्रहरीले सम्झाई बुझाई गर्न खोजिरहेको र स्थानीयले अटेर गरेको बताए।
निषेधाज्ञा जारी रहेको अवस्थामा नतान्नु भन्दाभन्दै बिहीबार जिल्ला प्रशासनको स्वीकृत विना तानिएकाले रथ तान्न रोक लगाउन प्रहरीले आग्रह गरेको थियो।
गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोरोनाको महामारी रोक्नका लागि सरकारले लागू गरेको लकडाउनका कारण रोकिएको थियो। अहिले पनि निषेधाज्ञा बाबजूद स्थानीय जनताको दबाबमा रथ तान्न सुरू गरेका हुन्।