काठमाडौँ: नागार्जुन नगरपालिका-१ रानीबनमा विहिबार राति भलिबल खेल्ने क्रममा भएको दुई फरक समूहबीच झडप हुँदा चार जना शख्त घाइते भएका छन् ।
घाइते भएर उपचारका लागि पुगेका विरामी र आफन्तलाई पुनः आक्रमण गर्न भन्दै कुटपिट गर्ने समूह फेरी मनमोहन अस्पतालको एमर्जेंसी कक्षमै पुगेर घाइतेलाई पुन कुट्न पुगेको र सोहि क्रममा अस्पतालमा भौतिक क्षती पुर्याएको र केहि अस्पतालका कर्मचारीमाथि समेत हातपात भएको अस्पतालले जनाएको छ।
घाइते हुनेमा सुदिप रानामगर, ३०, सुरज रानामगर, २४, नवराज रानामगर, र सुरज थापामगर छन् ।घाइतेहरुको मनमोहन अस्पताल स्वयम्भुमा उपचार भइरहेको छ ।
अस्पतालका अनुसार झडप हुँदा अज्ञात समूहले घाइतेहरूमाथि कुटपिट गरेका थिए भने नर्स, चिकित्सक, प्यारामेडिक्स तथा सुरक्षा गार्डहरूमाथि समेत हातपात भएको थियो।
अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरूले आकस्मिक कक्षमा तोडफोड समेत गरेको बताएको छ।
‘आकस्मिक कक्षभित्रका इसिजी मेसिन, ड्रेसिङ ड्रम, टुल, टिचल फोर्सेब र अन्य मेडिकल उपकरणहरू तोडफोड गरेको व्यहोरा अवगत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
यता महानगरीय प्रहरी वृत स्वयम्भुका प्रमुख तथा प्रहरी नायब उपरीक्षक निराजन दत्त भट्टका अनुसार घटना गय राती ७-८ बजेको बीचमा भएको र अस्पतालमा ९ बजेतिर समेत पुन: झडप भएको बताए ।
भट्टका अनुसार घाइतेलाई पुनः कुट्न भन्दै अर्को पक्ष अस्पताल नै पुगेर फेरी आक्रमणको प्रयास गरेको उनले बताए।
‘उनीहरू दुई समूहबीच पहिले रानीवनमा भलिबल खेल्ने क्रममा झडप भएको हो। घाइते भएपछि अस्पताल ल्याएका व्यक्तिहरूमाथि कुटपिट गर्न फेरि अस्पताल गएका रहेछन्,’ उनले भने।
यस घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रबहादुर धानुक र सुदीप देवकोटा छन्। प्रहरीका अनुसार उनीहरू अस्पतालमा कुटपिट गर्न अस्पताल पुगेका थिए।
घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताए। पक्राउ पर्नेहरू पनि सामान्य घाइते छन्।
घाइतेहरुको अवस्था अहिले खतरामुक्त रहेको पनि उनले जानकारी दिए।
