काठमाडौँ: कृषि सामग्री कम्पनी लिमिटेडले मल नल्याएको आरोपमा शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले राखेको पाँच प्रतिशत बैंक धरौटी जफत गर्ने निर्णय गरेको छ।
कम्पनीको आइतबार बसेको बैठकले दुवै कम्पनीले ठेक्का सम्झौता गर्दा राखेको धरौटी रकम जफत गर्ने निर्णय गरेको हो। शैलुङले चार लाख ४०२ अमेरिकी डलर र होनिको मल्टिपलले तीन लाख ७७ हजार ३७५ डलर रकम धरौटी राखेका थिए।
त्यसबेलाको प्रचलित डलरको दरअनुसार शैलुङको चार करोड ८८ लाख ४९ हजार ४४ र होनिकोको चार कोरड ५६ लाख ६२ हजार ३७५ नेपाली रुपैयाँ जफत भएको कम्पनीले जनाएको छ। दुवैको जोडेर ९ करोड ४५ लाख ११ हजार ४१९ रुपैयाँ धरौटी हुन आउँछ।
ठेक्का सम्झौता भएको चार महिना बित्दा पनि दुवै कम्पनीले मल ल्याउने मनसाय नदेखाएपछि कारबाहीस्वरूप धरौटी जफत गरिएको कम्पनीका प्रवक्ता राजेन्द्रप्रसाद पोखरेलले बताए।
‘बाँकी के कारबाही गर्ने भन्ने कुरा कानुनी राय लिएपछि टुंगो लाग्ने छ,’ पोखरेलले भने।
दुवै कम्पनीले शुक्रबार मल ल्याउन लागिरहेकाले भन्दै ठेक्का सम्झौताको समय थप्नुपर्ने प्रस्ताव राखेका थिए। कम्पनीले उनीहरूले मल ल्याउन खोजे-नखोजेको, उनीहरूले चालिरहेको प्रक्रिया, कागजात र परिस्थितिहरू जाँच गर्यो।
‘यसरी उहाँहरूको गतिविधिहरू, कागजातहरू, प्रक्रिया हेर्दा मल ल्याउने सम्भावना नदेखिएपछि हामीले बाध्यात्मक रुपमा धरौटी जफत गर्ने निर्णय गरेका हौं,’ पोखरेलले भने।
दुवै कम्पनीले मल आपूर्ति गर्ने अन्तिम समय भदौ २० गते थियो। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार उनीहरूले अहिलेसम्म एक बोरा मल नेपाल ल्याउन सकेको देखिएन।