काठमाडौं: महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार आफुलाई प्राकृत चिकित्षक बताउने सुवास सुब्बा लिम्बुलाई जनतालाई भ्रम छरेको र कोरोनाले मृत्यु बरण गरेका व्यक्तिको अंग झिकिने गरिएको दावी विरुद्ध पक्राउ गरेको छ ।
उनले विभिन्न युट्युब च्यानलमा अन्तरवार्ता दिंदा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको मानव अंग झिकिने गरिएको अभिव्यक्ति दिंदै आएका थिए।
महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई आज ललितपुरको ढोलाहिटीमा रहेको उनकै आयुर्वेद क्लिनिकबाट सोमबार पक्राउ गरिएको, प्रहरी अपराध महाशाखाक प्रमुख दिपक थापाले बताए ।
पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । लिम्बुलाई यसअघि पनि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले पक्राउ गरेको थियो ।
पछिल्लो समय विभिन्न माध्यममा अन्तरवार्ता दिँदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए । तर, दाबीलाई पुष्टि हुने कुनै प्रमाण नभएको पाइएपछि उनलाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।