राजविराज: भारतीयहरूको कुटपिटबाट गम्भीर घाइते भएका एक नेपालीको मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६, कटैयाका ५५ वर्षीय रामदेव यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) तिलक भारतीका अनुसार नेपाल–भारत सीमाको दशगाजा क्षेत्रमा नेपालीको धानबाली भैँसीलाई खुवाएको विषयमा विवाद हुँदा रामदेवमाथि कुटपिट भएको थियो । घटना यही भदौ ६ गतेको हो ।
गम्भीर घाइते रामदेवको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार मृत्यु भएको हो ।
दशगाजा क्षेत्र नजिक नेपालीको खेतमा लगाएको धानबालीमा भारत, बिहारको मधुवनी जिल्ला, लौकही प्रखण्ड, ग्राम करयौत निवासी भैँसी चरवाहरूले आफ्ना भैँसी छाडेका थिए । आफ्नो धानबालीमा भैँसी चरेको देखेर रामदेव र उनका छोरा ३० वर्षीय ललनकुमारले भैँसी धपाउने प्रयास गरेका थिए ।
यस क्रममा भनाभन र विवाद हुँदा भैँसी चरवा भारतीयहरूले बाबुछोरालाई कुटपिट गरेका थिए । इलाका प्रहरी चौकी पातोका प्रहरी नायब निरीक्षक (सई) नवीनकुमार झाका अनुसार बाबुछोरामाथि लाठी र बाँसको भाटाले कुटपिट भएको थियो । कुटपिटबाट रामदेवको करङ भाँचिएको तथा पेट र टाउकोमा गम्भीर चोट लागेको थियो ।
रादेवलाई तत्काल राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएकोमा थप उपचारको लागि विराटनगर रेफर भएको थियो । रामेदवका छमेकी अनिलकुमार यादवका अनुसार विराटनगरमा कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि धरान लगिएको थियो । सामान्य घायते भएका छोरा ललनकुमार स्थानीय अस्पतालमा उपचारपछि फर्केका थिए ।
कुटपिटको आरोपमा एक भारतीय नागरिक नेपाल प्रहरीको नियन्त्रणमा छन् । भारत, बिहारको मधुवनी जिल्ला लौकही प्रखण्ड ग्राम करयौत निवासी १९ वर्षीय प्रदीपकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी भारतीले जानकारी दिए ।