काठमाडौं: कोरोना संक्रमणको दर काठमाडौँ उपत्यकामा खासै नघटेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने सुझाव दिएको छ ।
विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने बुझाइ मन्त्रालयको छ ।
मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने सुझाएको बताए ।
दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने उनले बताए ।
उनले भने, ‘उपत्यकामा अहिले यी दुवै मापदण्ड नाघेको छ, त्यसैले अहिले निषेधाज्ञा खोल्नु हुन्न भन्ने हो, तर यस सम्वन्धी निर्णय हामीले होइन, गृहमन्त्रालय अन्तरर्गतको स्थानीय प्रशासनले गर्नेछ ।’
मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) प्रमुख डा. गुणराज लोहनीले पनि जनस्वास्थ्यको हिसावले निषेधाज्ञालाई निरन्तरता दिनु पर्ने बताए । उनका अनुसार अहिले पूर्ण रुपमा लकडाउन खोलिदिँदा अस्पताल र चिकित्सकहरुलाई संक्रमित व्यवस्थापन गर्न गाह्रो पर्न सक्छ ।