काठमाडौँ: शुक्रबार सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकबाट पार्टीभित्रको विवाद किनारा लगाएपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद पुनर्गठनको तयारीमा जुटेका छन्।
प्रधानमन्त्री ओली निकट नेताहरूका अनुसार ढिलोमा अबको १५ दिनभित्र मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारी छ। अर्थ, सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालय खाली रहेकाले आफ्नो क्याबिनेटमा नयाँ मन्त्री थप्न ढिलो नगर्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन्।
१५ दिनपछि दसैंको माहोल सुरु हुने भएकाले पनि चाँडै मन्त्रीपरिषद पुनर्गठन गरी कोरोनाविरुद्धको लडाइँमा केन्द्रित हुने प्रधानमन्त्रीको योजना छ।
स्थायी कमिटी बैठकले कार्यकारी प्रमुखको हैसियतमा ओलीले सरकार र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी तोकेको छ। तर प्रधानमन्त्री ओलीले विशेषतः मन्त्री, संवैधानिक परिषद, राजदूत जस्ता महत्वपूर्ण नियुक्ति गर्दा अध्यक्ष दाहालसँग सल्लाह लिने र दाहालले पनि ओलीसँग सल्लाह गरेर पार्टी सञ्चालन गर्ने निर्णय गरेको छ।
स्थायी कमिटी बैठक सहमतिमा टुंगिएपछि अबको पहिलो प्राथमिकता मन्त्रीपरिषद पुनर्गठन हो। जसमा थपिने संभावित नयाँ मन्त्री र बाहिरिने मन्त्रीहरूबारे ओली र दाहालबीच छलफल चलिरहेको छ।
शीर्ष नेताहरूले स्थायी कमिटी बैठकमा भएको सहमतिको मर्मअनुसार सहमति र सन्तुलनको तस्बिर मन्त्रीपरिषद पुनर्गठनमा देख्न चाहेका छन्। यो पुनर्गठनले प्रधानमन्त्री ओलीले अबका दिनमा पार्टीसँग कस्तो समन्वय गर्छन् र पार्टीभित्रको शक्ति सन्तुलन कति मिलाएर अगाडि बढ्छन् भन्ने देखाउने छ।
अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि दुई हप्तादेखि अर्थमन्त्रालय खाली रहेको छ भने गोकुल बास्कोटाले राजीनामा दिएयता उनै खतिवडाले हेर्दै आएको सञ्चार पनि अहिले खाली नै छ। त्यस्तै शहरी विकास मन्त्रालय पनि खाली रहेको छ भने सरकारले मन्त्रालय फुटाएर दुई वटा नयाँ मन्त्रालय थप्ने तयारी पनि गरिरहेको छ।
