काठमाडौँ: सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ रहने हो भने आयुर्वेदिक उपचार पद्धतितिर लाग्नुपर्ने धारणा राखेका छन् ।
हिजोको मन्त्रिपरिषद् बैठकमा उनले आयुर्वेदिक उपचार विधि पद्धति र यसका फाइदा/बेफाइदाबारे व्याख्या गरेका थिए । ‘स्वस्थ रहने हो भने आयुर्वेदिक उपचारतिर लाग्नुपर्यो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘बिरामी हुँदै औषधि खाँदै अस्पताल जाँदै गर्ने हो भने एलोपेथिक उपचार गर्नॅपर्यो ।’
उनले आयुर्वेदिक औषधिमा इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) बढाउने र त्यसमा भाइरस कम गर्ने तत्त्व बढी रहेको आफूले पाएको पनि बताएका थिए ।
नयाँ अस्पताल खोल्नेसम्बन्धी स्वास्थ्य मन्त्रालयको प्रस्तावका सन्दर्भमा धारणा राख्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक उपचार पद्धति भरपर्दो र विश्वासिलो रहेको बताएका हुन् ।
उनले आयुर्वेदिक अस्पताल खोल्नेतर्फ पनि ध्यान दिनुपर्ने धारणा राखेका थिए । उनले आयुर्वेदिक औषधिको सही प्रयोग गर्नुपर्ने पनि बताएका थिए । प्रधानमन्त्री ओलीले गत २५ गते आयुर्वेदका विज्ञ र सरोकारवालासँग प्रधानमन्त्री निवास बालुवाटारमै लामो छलफल गरेका थिए ।