काठमाडौं: नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुखमा लेखनाथ कोइराला नियुक्त भएका छन्। ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरण भित्रका वरिष्ठ उपकार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन्।
आफ्नो ४ वर्षे कार्यकाल सकाएर निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बिदा भएसँगै कोइरालालाई सो जिम्मेवारी दिइएको हो ।
अहिले प्राधिकरणको माउ संस्थामा कार्यरत उपकार्यकारी निर्देशकहरुमध्ये वरिष्ठताका आधारमा सबैभन्दा सिनियर कोइराला प्राधिकरणको अर्थ निर्देशनालयका प्रुमख समेत हुन्।
उसो त कोइराला भन्दा वरिष्ठ उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भएपनि उनी प्राधिकरण स्वामित्वको एनइए इन्जिनियरिङ कम्पनीमा कार्यरत छन्। जुन प्राधिकरण भन्दा बाहिर रहेको संस्था मानिन्छ।
यसअघि ऊर्जामन्त्रीले मन्त्रालयका सहसचिव नवीनराज सिंह र मधु भेटवाललाई निमित्त निर्देशक बनाउन पनि छलफल गरेका थिए।