काठमाडौँ: भोलिबाट लामो दूरीको सार्वजनिक यातायात चल्ने भएको छ। यातायात व्यवसायीले बिहीबारबाट लामो दूरीको यातायात सञ्चालनको लागि तयारी भइसकेको बताएका छन्।
सरकारले भदौ ३१ सम्म लामो दूरीको यातायात सञ्चालनमा रोक लगाएको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि लामो दूरीको यातायात सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ।
‘हामीले असोज १ देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने पहिले नै बताएका थियौँ’, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘व्यवसायीले पहिलेदेखि नै सञ्चालन गर्ने तयारी गरेकाले भोलिबाट चलाउन कुनै समस्या छैन।’
सरकारले सबै सार्वजनिक यातायातले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ। जसमा व्यवसायीले थप ५० प्रतिशत भाडा यात्रुसँग लिन पाउनेछन्।
छोटो दूरीको सार्वजनिक यातायातका लागि मापदण्ड बनाए पनि लामो दूरीको लागि भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल थालेको छ।
मन्त्रालयले लामो दूरीको लागि छुट्टै मापदण्ड हुने बताइसकेको छ।
‘हामी आधा यात्रु राखेर भोलिबाट गाडी चलाउँछौँ’, कर्माचार्यले भने, ‘महासंघले सबै समितिलाई यात्रु र चालक, सहचालक सबैले मास्क अनिवार्य लगाउनुपर्ने निर्देशन दिएका छौँ।’
यातायात व्यवसायीले यो दशैँमा खासै भीडभाड नहुने अनुमान गरेका छन्। लकडाउन सुरु हुनुअगाडि धेरै मानिस आफ्नो घर गएको भन्दै अहिलेको दशैमा भीडभाड कम हुने बताएका हुन्।
व्यवसायीहरुले अनलाइन टिकेटिङको तयारी गरेका छन्। लाइनमा बस्नुपर्ने र मानिसको सम्पर्कमा हुँदा ज्यादा जोखिम हुने भन्दै अनलाइन टिकट काट्ने व्यवस्था गर्दैै छन्।