हेटौंडा: कोरोना संक्रमित भएको थाहा भएपछी होम आइसोलेसनका लागि आफ्नो घर जाँदै गर्दा एक युवा इन्जिनियरको सवारी दुर्घटनामा शनिबार मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गमा पर्ने हेटौंडा उपमहानगरपालिका—१९ नेवारपानी नजिक बसको ठक्करबाट युवकको शनिबार मृत्यु भएको हो । मृतक चितवन भरतपुर—७ का २९ वर्षीय दिपेन्द्र अधिकारी रहेको बुझिएको छ। शुक्रबार कोरोना पुष्टि भएका उनी बकैया गाउँपालिकाका इन्जिनियर हुन् ।
‘शुक्रबार बेलुका कोरोना पुष्टि भएपछि घरमा छुट्टै बस्न चितवन जान्छु भनेर हिँडेका थिए’ गाउँपालिका अध्यक्ष दामोदर खनालले भने,‘एम्बुलेन्सको व्यवस्था गर्छौं भनेका थियौं तर मोटरसाइकलमा एक्लै निस्कनु भएछ ।’ उनका अनुसार मोटरसाइकलमा जाँदा कसैलाई नछुने र घर सुरक्षित ढंगले बस्ने सोचका साथ ती युवा हिँडेका थिए ।
गाउँपालिकाका जनप्रतिनिधिहरुले सुरक्षित साथ बस्ने व्यवस्था गाउँमै गरिदिन्छौं नजानोस भनेर इन्जिनियर अधिकारीलाई भनेका थिए । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनि बस र हेटौंडाबाट चितवनतर्फ जाँदै ना ४९प २४०० नम्बरको अधिकारीले चलाएको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । उनको उपचारका लागि हेटौंडा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।