काठमाडौँ: :
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकमा सरकारको प्रभावकारी सञ्चालन र मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको छ । आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकपछि आज पेरिसडाँडामा बसेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का सदस्यको हेरफेरका विभिन्न विकल्पलगायत विषयमा छलफल भएको थियो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड¬’ का अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा नीतिगत मापदण्ड तयार गरेपछि प्रधानमन्त्रीले मन्त्रीहरुको हेरफेर गर्ने जानकारी दिइएको थियो तर बैठकमा यसबारे कुनै निष्कर्ष भइसकेको छैन । साथै संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजनाबारेमा पनि बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको जनाइको छ । बैठक सोमबार अपराह्न पुनः बस्नेछ । स्थायी कमिटीको गत बैठकमा अध्यक्षद्वयबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारितपछि विवाद टुङ्गिएको थियो । स्थायी कमिटीको सो बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टी काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो ।
सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा तयारीका लागि आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक तय गरेको थियो ।
Trending
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु